रुपन्देही । प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सूचना दिएर सघाएको आरोप लागेपछि युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ल हाल प्रहरी हिरासतमा छन् ।
प्रहरीले रुपन्देहीमा अपराधको सम्राज्य चलाएका पुनको अपराध कर्ममा सहयोग गरेको आरोपमा नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठनका पूर्व नेता लेखनाथ न्यौपाने, युवा संघ रुपन्देहीका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–६ का रोशन खड्का र बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले उनिहरूविरुद्ध संगठित अपराध कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेको थियो ।
युवा संघको अधिवेशनमा भाग लिन काठमाडौं आएका मल्ललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कुमोद ढुङ्गेलले ठमेलबाट पक्राउ गरेका थिए । मल्लको पक्राउ पछि इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै रुपन्देहीका एसपी श्यामलाल ज्ञवालीले अझै सात जना व्यक्ति अनुसन्धानको घेरामा रहेको बताएका थिए ।
एसपी ज्ञवालीको घोषणाअनुसार रुपन्देही प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानको क्रममा राजु भन्ने निलकण्ठ डुम्रेले समेत मनोज पुन समुहलाई सघाएर करोडौं रकम आर्जन गरेको खुल्न आइसके पनि कानुनी कठघरामा ल्याइएको छैन । कारण हो, डुम्रेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेको संरक्षण ।
रुपन्देही प्रहरी स्रोतका अनुसार डुम्रेले डीएसपी पाण्डेलाई मामा भनी सम्बोधन गर्ने गरेका छन् । डीएसपी पाण्डेको संरक्षकत्वमै रुपन्देहीमा विभिन्न व्यक्तिका जग्गा कब्जा गरेर करोडौं कमाइसकेका डुम्रे पछिल्लो दुई बर्षदेखि मनोज पुनसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुल्न आएको बताइन्छ । रुपन्देहीमा नटवरलालको परिचय बनाएका डुम्रे र लेखनाथ न्यौपाने मार्फत पुनसँग सम्पर्क गर्ने गरेको अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकृतले बताए । बर्षौंदेखि आफुलाई माओवादी केन्द्रको कार्यकर्ता बताउने उनी आफ्नो कुकर्म ढाकछोप गर्न नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
२०६२÷६३ को जनआन्दोलनपछि रुपन्देहीका धनाढ्यहरूका जग्गामा रातीराती माओवादीको झण्डा गाडेर कब्जा गर्ने र उज्यालो भएपछी तिनै व्यापारीसँग ‘माओवादी म मिलाउछु मलाई जग्गा दिनुस्’ भन्दै कौडीको भाउमा जग्गा फुत्काउने धन्दाबाटै उनले आधा अर्ब भन्दा धेरै सम्पत्ति जोडिसकेको स्रोत बताउँछ ।
अनुसन्धानको क्रममा मनोज पुनलाई सघाउने गरेको देखिए पछीरुपन्देही प्रहरीका डीएसपी कुमोद ढुङ्गेलले डुम्रेलाई पक्राउ गर्न खोजेका थिए । तर अर्का डीएसपी पाण्डेले सूचना चुहाएपछी डुम्रे अर्धभुमिगत भएको स्रोतको दाबी छ । धेरैजसो काठमाडौं बस्ने र बेलाबेलामा बुटवल पुगेर अशुली धन्दा चलाउने गरेका डुम्रे पछिल्लो डेढ महिनादेखि अर्धभुमिगत छन् ।
हुन त डुम्रे यतिसम्म चतुर खेलाडी हुन् कि उनले केही महिना अगाडी आफुलाई मनोज पुनले फोन गरेर पैसा मागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । उजुरी गर्न जाँदा देखिएको हाउभाउले गर्दा तत्कालिन डीएसपी मुकुन्द मरासिनीले समेत डुम्रेलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको बुटवल प्रहरी स्रोतले जानकारी दियो ।
‘आफू बच्नलाई पुनले पैसा माग्यो भनेर उजुरी गर्ने अनि भित्र भित्रै उसैलाइ सघाउने, डुम्रेको पनि सुजु मल्लको जस्तै भुमिका देखिएको छ’, एक अनुसन्धान अधिकारीले भने । कन्स्ट्रक्सन कम्पनीका ठेकेदारसमेत रहेका सुजु मल्ल दुर्गा तिवारीको हत्या भएपछि बुटवलमा भएको एक साता लामो आन्दोलनको नेतृत्वमा देखिन्थे ।
दिउँसो आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरूमा पनि सहभागी हुने र त्यहाँका सूचना मनोजलाई जानकारी गराउने गरेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । मल्ल लगायतका पक्राउ परे पनि प्रहरीबाटै सूचना चुहिएका कारण डुम्रेलाई कानुनी दायरामा ल्याउन ढिलाई भएको खुल्न आएको छ ।
0 Comments