रामपुर । पाल्पा रामपुरस्थित जनकल्याण
माध्यामिक विद्यालयले विद्यार्थी र शिक्षकहरूलाई बर्थ डेका दिन चकलेट बाँड्न निषेध
गरेको छ । रामपुर वडा नं–१० रामटारमा रहेको जनकल्याण
माध्यमिक विद्यालयमा यसअघि नै जङ्क फूड (पत्रु खाना) निषेध गरिएको आनन्दप्रसाद
भण्डारीले बताएका छन् । यदि विद्यालय परिसरभित्र कसैले जङ्क फूड वितरण गरेको
पाइएमा कारबाही गरिने प्रधानाध्यापक भण्डारीले बताए ।
विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो निर्णय भएको विद्यालयले जनाएको छ । विद्यालयमा ‘इको क्लब’ गठन गरेर घरमै तयार पारेका खाजा विद्यार्थीलाई प्रयोग गराउन तथा पत्रु खानाको प्रयोग रोक्ने निर्णय भएको क्लबका अध्यक्ष युवराज श्रेष्ठले बताए ।
बजारमा पाइने विभिन्न खानेकुराले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने र पढाइमा समेत प्रभाव पार्ने भएपछि अब जन्मदिनको अवसरमा चकलेट वितरण नगरी शुभकामना आदानप्रदान मात्र गरिने शिक्षक दामोदर तिमिल्सिनाले जानकारी दिए । पत्रु खाना लैजान नपाइने भएपछि विद्यार्थीले घरमै तयार पारेका रोटी, मकै, भटमासलगायतका खाजा झोलामा बोकेर स्कुलमा आउने गर्दछन् ।
0 Comments