३७ बिघाको गाँजा नष्ट
सिन्धुली । सिन्धुलीमा अवैधरुपमा लगाइएको
गाँजाखेती नष्ट गर्ने अभियान अन्तर्गत मरिण र हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले अहिलेसम्म
३७ बिघाको
गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक
रामेश्वरप्रसाद यादवका अनुसार उक्त क्षेत्रमा ५४ प्रहरीले गाँजा फँडानीसँगै नष्ट
गर्ने अभियान चलाएको जानकारी दिए ।
मरिण
गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने
सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने
प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ ।
गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका
छन् ।
गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान
भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट
गरेको थियो । अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली
नै बिरामी परेकाले हेटाैंडाबाट थप २५ प्रहरी टोली माग गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ ।
0 Comments