Subscribe Us

सेनाले ३ अर्बमा खरिद गरेको हेलिकोप्टर अलपत्र

५ वटा आउनै बाँकी

काठमाडौं । नेपाली सेनाले आफैंले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का अनुमति दिएपनि त्यसलाई बुझ्ने काम भएको छैन । त्यसका लागि नेपाली सेनाको एक टोली गत जेठ पहिलो साता पेरिस पुगेर नेपाल ल्याउने अनुमति दिएको थियो ।

फ्रान्समा बनेको इक्वेटर हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि पाइलट र इन्जिनियरसहितको टोली गएको थियो । तर त्यो हेलिकोप्टर नेपाल आइपुगे पनि त्यतिकै थन्किएको छ ।  एकैपटक खरिद गरिएको अर्को हेलिकोप्टर पनि त्यसैगरी थन्किएको छ । खरिद सम्झौताअनुसार स्पेयर्स पार्टस् नआएपछि भीआइपीका लागि भनेर किनिएको इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर नेपाली सेनाले स्वीकार गरेको छैन । ग्लोबल टेण्डरबिनै सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएर स्थानीय एजेण्टमार्फत इटालीको उत्पादक कम्पनीसँग हेलिकप्टर खरिदसम्बन्धी सिधै डिल गरेको थियो ।

अगुष्टा हेलिकोप्टर भने नेपालका हतियार कारोवारी ठेकेदार रोहिणी थपलिया एजेण्ट हुन । उनले नै सो हेलिकोप्टर नेपाल ल्याउन र नेपालीलाई सेनालाई हस्तान्तरण गर्ने प्रकृयामा सहयोग गर्दे आएका छन् । सेनाले हाल ७ वाट हेलिकोप्टर खरिद गर्नै प्रकृया अघि बढाइसकेको छ । जस्मध्ये दुइ नेपाल आएका हुन ।
मंसिर तेस्रो साता इटालीबाट आइपुगेको अगुष्टा हेलिकप्टरको सेनाका विमान चालकबाट परीक्षण उडानसमेत भइसक्दा पनि सेनाले बुझ्न नमानेको हो । मन्त्रिपरिषद्बाट समेत भएको निर्णयविपरीत सेनाले फरक ‘स्पेसिफिकेसन’को हेलिकोप्टर खरिद प्रकरणसम्बन्धी यस विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्नचिह्न उठाइएको छ । सरकारले भीआइपीको डेढ अर्ब रुपैयाँभन्दा बढीको हेलिकप्टर खरिदमा बद्नियत देखिएको छ ।

३ बर्ष अघि सेनाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकोप्टर खरिद गर्न बोलपत्र माग गरेको थियो । ३१ लाख ९० हजार आठ सय ७२ युरो लागत अनुमान स्वीकृत गरी सेनाले बोलपत्र माग गर्दा फ्रान्स र अमेरिकाको हेलिकोप्टर निर्माता कम्पनिले बोलपत्र पेस गरेका थिए । तीमध्ये फ्रान्सको कम्पनीका तर्फबाट सिंगापुरस्थित एक एजेन्टले कम अर्थात् २५ लाख ६७ हजार तीन सय ७६ युरो कबोल गरेपछि सेनाले सोही कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो ।

२०७३ असार १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई एउटा मध्यम र दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न स्वीकृति दिएको थियो । त्यसमध्ये दुईवटा लाइट हेलिकप्टर खरिद गर्नेगरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटामात्र इक्वेटर हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो । दुईवटा हेलिकोप्टर खरिद गर्ने बोलपत्र माग गरी खरिद प्रक्रियामा गइसकेको अवस्थामा सेनाले पर्याप्त कारण नदिई एउटामात्र खरिद गर्ने निर्णय गरेको थियो ।

सेनाले अर्को हेलिकोप्टर खरिदका लागि अमेरिकाको वेल हेलिकप्टर कम्पनीसँग सम्झौता गरिसकेको छ । वेल कम्पनीले सेनालाई हेलिकप्टर बिक्रीका लागि आर्थिक प्रस्ताव पेस गरेपछि उक्त कम्पनीसँग ३८ लाख खमेरिकी डलरमा हेलिकप्टर खरिद गर्ने सम्झौता सेनाले गरिसकेको छ । त्यतिबेला सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको थियो । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति थियो । सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान अनुसार ग्लोबल टेन्डरबाट गरिसकेको छ ।

सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको थियो छ । सरकारले यो आर्थिक वर्ष  ०७४,०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको थियो । अति विशिष्ट व्यक्ति (भिभिआइपी) को प्रयोजनका लागि इटालियन अगस्टा वेस्टल्यान्ड हेलिकप्टर खरिद गर्न अर्थ मन्त्रालयले नेपाली सेनालाई एक अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको हो ।

मन्त्रिपरिषद्को २०७४ जेठ १९ गतेको बैठकले भिभिआइपीका लागि इटालियन हेलिकप्टर निर्माण कम्पनी अगस्टा वेस्टल्यान्डसँग एक थान हेलिकप्टर खरिद गर्न सेनालाई स्वीकृति दिएको थियो । सोही निर्णयको आधारमा अर्थ मन्त्रालयले गत पुस २० गते सेनालाई १ अर्ब ७० करोड रुपैयाँ निकासा गरिदिएको थियो ।  हाल नेपाली सेनासँग १३ वटा विमान छन्  ५ वटा मर्मत सम्भारको पर्खाइमा छन् । चालू अवस्थामा रहेका हेलिकप्टरमध्ये ३ वटा एमआई–१७ र १० वटा साना छन् । रक्षा मन्त्रालय स्रोतका अनुसार यो आर्थिक वर्ष सुरु भएपछि २ वटा ट्रेनर जहाज र २ वटा हेलिकप्टर खरिद गर्न अर्थले सेनालाई २ अर्ब ५७ करोड ३६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ निकासा दिएको थियो । मन्त्रिपरिषद् बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्नका लागि सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो ।

Post a Comment

0 Comments