Subscribe Us

विदाको मौका छोपेर नेपाल छिरेका थिए चिनीया ह्याकर


काठमाडौँ, १५ भदौ । नेपाल प्रहरीले एटीएमबाट करोडौँ रकम अनाधिकृत रुपमा निकाल्ने पाँच चिनीया नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शनिबार राती दरबारमार्गस्थित विभिन्न बैँकको एटिएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा पक्राउ परेका एक चिनिया नागरिकको सहायतामा अन्य पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षीय चेन वीन वीन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ रहेका छन् ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले आज पत्रकार सम्मेलन गरी दरबारमार्गको प्रभु बैँकको एटिएमबाट पैसा निकाल्दै गर्दा पक्राउ परेका झु लियाङआङको सहायतामा अन्यलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“झु लियाङ आङले प्रभु बैँक दरबारमार्गको एटिएमबाट झिकेर बाहिर निस्कदैँ गर्दा प्रहरीको टोेलीले उनलाई पक्राउ गरेको हो,”–उहाँले भन्नुभयो । एटिएमबाट निकालेको रकम गन्नसमेत नभ्याएको बेलामा प्रहरी टोलीले झुलाई पक्रन सफल भएको उहाँको भनाई छ ।

प्रहरीले झुको सहयोगमा हात्तिसारस्थित माया मनोहर होटलमा बसेका अन्य चारजनालाई पक्रन सफल भएको हो । रकम झिकेर चीन फर्कने चाँजो मिलाउँदै गरेको अवस्थामा पक्राउ परेको सुवेदीको भनाई छ ।

प्रहरीले पक्राउ परेका पाँच चिनीया नागरिकसँग रु एक करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ, नौ हजार १०८ अमेरिकन डलर, एक हजार १९१ चिनिया युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा र ८० हङकङ डलर बरामद गरेको छ । प्रहरीले उनीहरुसँग २० थान नक्कली भिसा कार्डसमेत बरामद गरेको छ ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटीले नबिल बैँकको एटिएमबाट रु ७० लाख झिकेर प्रभु बैँकको पैसा झिक्दै गर्दा प्रहरीले पक्राउ गरेको बताउनुभयो । “प्रभु बैँकको रकम झिक्दै गर्दा प्रभु बैँकको कर्मचारीले प्रहरीलाई खबर गरेको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्रन सफल भएका हौँ,”–उहाँले भन्नुभयो ।

उनीहरुले नबिल, प्रभु र हिमालयन बैँकको एटिएमबाट  सफ्टवयर ह्याक गरेर पैसा झिकेको देखिन्छ । एउटा एटिएम बुथमा जम्मा २५ लाख रकम अटाउने भएकाले उनीहरुले धेरै एटिएमबाट रकम झिकेको बोगटीले बताउनुभयो ।

पक्राउ परेकलाई बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments