Subscribe Us

टिकट कालोबजारी गर्नेलाई कारबाही गरिने


काठमाडौँ, ५ असोज । दशैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरि खुलाईएको टिकट कालोबजारी गर्नेलाई कारबाही गरिने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ल्होत्से बहुउदेश्यीय प्रालि र सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा शनिबार यहाँ आयोजना गरेको ‘यान्त्रिक परिक्षण तथा जनचेतनामुलक अडियो शुभारम्भ’ कार्यक्रमका वक्ताले नक्कली व्यक्तिको नाममा टिकट बुकिङ गरे कारबाही गरिने बताएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विभागले दशैँका लागि तोकेको भाडादरमा धेरै संख्यामा टिकट लिएर महङ्गो मूल्यमा बेच्ने जोकोहीलाई कारबाही गरिने बताउनुभयो । “दशैँका लागि स्पष्ट रुपमा लेखिएको भाडादर आम जनतासमक्ष लैजानुपर्छ,”–उहाँले भन्नुभयो ।

यात्रुलाई सुरक्षित यात्रा बनाउन चालक तथा सहचालकको व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाउन ल्होत्से बहुउदेश्यीय प्रालि लागेको बताउनुभयो । “बसपार्कभित्रको ९० प्रतिशत वेथिती हटिसकेको छ, बाँकी वेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,”–उहाँले भन्नुभयो ।

अध्यक्ष कुँवरले बसपार्कभित्र रहेको अनाधिकृत टहरा हटाएर व्यवस्थित बनाउने अभियानमा ल्होत्से बहुउदेश्यीय प्रालि लागेको बताउँदै आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्नमिल्ने प्रक्रियाको विकास गरिने बताउनुभयो ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले चाडपर्वमा हुनसक्ने सवारी दुर्घटनालाई हुन नदिन आफ्नो सवारी साधनको अवस्थाबारे अग्रीम चेकजाँच गर्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले चाडपर्वको समयमा उपत्यकामा कुनैपनि अप्रिय घटना नघटोस् भन्नका लागि प्रहरी सचेत रहेको बताउनुभयो । यातायात सेवालाई गुणस्तरीय र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाई थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गाडीको चापसँगै दशैँमा हुने जामलाई घटाउन ट्राफिक प्रहरी लागेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरी महाशाखाले ट्राफिक स्वयम्सेवक परिचालन गर्ने उहाँको भनाई थियो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले बसपार्कलाई झन् व्यवस्थित र राम्रो बनाउन महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले सफल यात्राका लागि चालक, सहचालक र यात्रुमा असल संस्कारको विकास हुनुपर्ने बताउनुभयो  ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले चाडपर्वको समयमा अरुले विदा पाएपनि यातायात मजदूरले यात्रुलाई सम्बन्धित स्थानमा पु¥याउन परेकाले यातायात मजदूरलाई राज्यले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

सोही अवसरमा संस्कार समाज नेपालले निर्माण गरको जनचेतनामूलक अडियो एक हजार सार्वजनिक बसलाई वितरण गरिएको थियो ।

Post a Comment

0 Comments