Subscribe Us

यस्तो छ भाजपाको नेपाल मिशन, –हिन्दू राज्य बनाउन करोडौं लगानी

काठमाडौं । नेपालको संविधानमा असन्तुष्टि राखेको भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यको अभियानका लागि नयाँ मिशनको तयारी गरेको छ । 

भारतको बटमलाईन नेपालको मधेस क्षेत्रको मागमात्र नभएर धर्म निरपेक्षता पनि संविधानबाट हटाउनुपर्ने नै हो । तर, धर्म निरपेक्षतालाई संविधानसभाले अनुमोदन गरेपछि नेपालमा क्रिश्चियनहरुको प्रभाव बढाउन पश्चिमाहरुको प्रवेश नेपालमा सहज हुने त्रासले भाजपाले पनि नयाँ मिशनको तयारी गरेको हो ।

हिन्दू राज्यको अभियानमा नेपालमा सक्रिय रहेका राप्रपा नेपाल, हिन्दू युवा संघ, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का खेमा लगायत अब गैर सरकार संस्था (एनजीओ) मार्फत पनि अभियान तिव्र हुन लागेको छ । यो अभियानका लागि भारतका हिन्दूवादी संस्था, बाबाहरुले आर्थिक सहयोग जुटाउनेछन् । खासगरी काली बाबाले नेपाल हिन्दू राज्य बनाउनका लागि भाजपाका नेताहरुलाई सहयोग गर्नेछन् । 

उता, नेपालमा रहेका धार्मिक आवरणका गुरु कमलनयानाचार्य, जगतगुरु बालसन्तलगायतको पनि सक्रियता बढाइने भएको स्रोतले जनाएको छ । ‘नेपालमा पश्चिमा हस्तक्षेपलाई निस्तेज पार्नेमात्र होइन, भारतीय हैकमवादलाई हावी गराउनका लागि संविधान कुनै हालतमा संशोधन गरी हिन्दू राज्यका लागि बहुमत जुटाउने खेल निरन्तर चलिरहेको छ ।’, स्रोतले भन्यो,‘हिन्दू राज्यका लागि भएका विभिन्न आन्दोलन र मागहरु यी केही होइनन् पुरै सिस्टम नै हिन्दू बनाउने मिशन तयार गरिएको छ ।’

स्रोतका अनुसार असार महिनादेखि यो वर्षका लागि कम्तिमा २० करोड रुपैंया युवाहरुको हिन्दू मिशनका लागि खर्च हुने भएको छ । हिन्दू राज्यको अभियानका लागि नेपालमा विभिन्न राजनीतिक दलहरु छाडेका युवाहरुको एनजीओ बनाएर त्यसमार्फत गाउँ गाउँमा कार्यक्रम लैजाने तयारी भएको छ । त्यसको योजना असार पहिलो साता भाजपाका नेपाल हेर्ने उपाध्यक्ष भगतसिंह कोसीयारीसँग विभिन्न तहमा छलफलको तयारी भएको छ ।

भाजपाको नीतिका विषयमा पार्टीकी उपाध्यक्ष रेणु देवीले नेपालको सार्वजनिक फोरममा दिएको अभिव्यक्तिले नै पुष्टि गरेको थियो । उनले नेपाल जातीय राज्य र धर्म निरपेक्षतामा गए भारतलाई मान्य नहुने संविधान जारी हुनुपूर्व नै बताएकी थिइन् । भाजपाको आधिकारीक लाइन नै नेपाल हिन्दू राज्य हुनुपर्ने रहेको उनको जिकीर विवादास्पद भएको थियो । तर, उनले तथ्यमा टेकेरे उक्त अभिव्यक्ति दिएकी थिइन् । रेणुदेवीको अभिव्यक्तिका विषयमा नेपाली मिडियामा समाचार छ्यापछ्याप्ती आएपछि त्यसको औपचारिक खण्डनका रुपमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको थियो ।

यो अभियानमा भाजपाका विभिन्न तहका नेताहरुको सक्रियता बढिरहेको छ । प्रचार विभागमा रहेका नेता विजय जोली, विहारका विधायक सुशीलकुमार जैसवाल, सन्दीप श्रीवास्तव, झारखण्डका विधायक शिवशंकर ओराओनलगायतका भाजपा नेताहरुले नेपालमा हिन्दूकरणका लागि दबाब दिइरहेका छन् । सरकार गिराउनेदेखि अस्थिर राजनीतिक अवस्था सृजना गरी संसदमा भारतीय दबाबमा रहेको बहुमत खडा गरी नेपाललाई हिन्दू राज्यका रुपमा स्थापित गराउन यीनिहरुको सक्रियता रहेको छ । सन्दीप श्रीवास्तव त बारम्बार नेपालमा आएर यहि अभियानमा सक्रिय रहेका छन् । सरकार गिराउनेदेखि भारतीय स्वार्थलाई नेपालको संविधानमा लिपिबद्ध गराउनेसम्मको खेलमा भाजपाका नेताहरु लागेका छन् ।  

हिन्दू राज्यको अभियानमा लाग्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भारतीय पक्षले सुझाव दिएको थियो । पछिल्लो भारत भ्रमणका क्रममा पनि थापालाई संविधान संशोधनका पक्षमा उभिएर हिन्दू राज्यको वकालत गर्नका लागि दबाब भाजपाले दिएको छ । अर्कातिर नेपाली कांग्रेसमा प्रभाव जमाउन थालेका नेता खुमबहादुर खड्कालाई पनि भाजपाले हिन्दू राज्यका लागि अभियान बलियो बनाउनका लागि लगानी र दबाब दिएको स्रोत बताउँछ । खड्काले त हिन्दू राज्यका लागि २÷४ सय मान्छे मरेपनि अभियान नछाड्ने योजना बनाएका छन् ।

Post a Comment

0 Comments