Subscribe Us

‘भङ्ग’ प्रस्तावले निम्त्याएको तरङ्ग

यता पार्टी भङ्ग गर्ने प्रचण्डको प्रस्ताव र डा. भट्टराईले नयाँ समाजवादी पार्टीको कुरा उठाउनु स्याल कराउनु र कुखुरा हराउनु पक्कै होइन 

काठमाडौं । केन्द्रिय कार्यालयको वैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटा प्रस्ताव गरेका थिए– पार्टी विघटन । उनको यो प्रस्तावप्रति धेरै अक्क न बक्क भए । अन्य पार्टी छाडेर माओवादीमा आउनेलाई यो कुराले आश्चर्य चकित त बनायो नै स्वयं माओवादी पुच्छरका कारण टिकेको साख अब के होला भन्ने चिन्ता पनि छायो । पार्टी नै भङ्ग गर्ने अध्यक्षकै प्रस्तावले माओवादीमा एउटा तरङ्ग ल्याएपछि कार्यकर्ता सोध्न थाले– अब के हुन्छ ? 

प्रचण्डको यस्तो प्रस्तावको पछाडी विघटित सवै माओवादी नेतालाई एक छातामा उभ्याउने योजनामा आएको बुझिएको छ । संविधानसभाको चुनाव अघि र पछि छुटेका माओवादी नेतालाई एउटा छातामा उभ्याएर प्रभावकारी दल निर्माणका लागि प्रचण्डको यो प्रस्ताव आएको बताइन्छ । त्यसो त प्रचण्डले सवै माओवादीको एकताविना कांग्रेस र एमालेसँग जुध्न नसकिने निक्र्यौल निकाली कार्यालयको वैठकमा ‘यो सानो मोर्चा’बाट माथि उठ्न समय लाग्ने भयो भनी गुनासो गरेका थिए । ‘यो प्रस्ताव सवैको एकताका लागि हुनसक्छ, अहिले औपचारिक र अनौपचारिक छलफल भइरहेका छन् ।’, स्रोतले भन्यो । 

माओवादी छाडेर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराईको पार्टीमा पनि आइरहेको विचलन र पार्टी छाड्ने प्रक्रियाले अहिले पूर्व माओवादीहरूको ध्रुवीकरणको प्रस्ताव पनि अघि सारिएको छ । नयाँ शक्तिका नेता देवेन्द्र पौडेलको यो प्रस्तावको संकेत माओवादीसँग एकताको आवश्यकता देखाएको छ भने प्रचण्डले दुई पटक डा. भट्टराईसँग भेट्नुको अर्थ पनि प्रचण्डको प्रस्तावका लुकेको धेरैले बताएका छन् । 

परिस्थितिको आँखीझ्यालबाट चिहाउने हो भने, यतिबेला नयाँ शक्तिका अगुवा भट्टराई एक प्रकारले एक्लिदै गइरहेका छन् । उनले नचाहँदा नचाहँदै पनि आफूले बनाएको कलिलो दलबाट प्रभावशाली नेताहरूको बर्हिगमन सुरू भएको छ । र, यो क्रम अझै रहने देखिन्छ ।

प्रचण्ड र भट्टराईबीच शनिबार भएको दुई घण्टा लामो भेटमा प्रचण्डले उनलाई ‘समकालिन राजनीतिको समीक्षा अलिक गम्भिर रूपमा गर्न’ आग्रह गरेका थिए । यसको अर्थ थियो, अब माओवादीलाई पुरानो र बलियो रूपमा बनाउने चाहना । जवाफमा भट्टराई प्रस्ताव र आयशप्रति नकारात्मक भएनन् अझै यस्ता विषयमा छलफल गर्दा आफूमा उत्साह भरिने र यसबारे छलफल गर्न सकिने भन्दै बडो सौहार्दता प्रकट गरे । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा बैद्य र विप्लवसँग पनि अनौपचारिक वार्ताहरू गरिरहेका छन् । कतिपय अवस्थामा आफैं र कतिपय अवस्थामा दोस्रो तहका नेताहरू मार्फत् भइरहेका कुराकानीले अध्यक्ष प्रचण्डलाई उत्साही बनाइरहेको प्रतिक्रिया ती नेताको छ ।

माओवादी केन्द्रका जनार्दन शर्मा, मात्रिका यादव लगायतले भरमग्दुर प्रयास गरेर उनलाई माओवादी केन्द्रमा फर्काउन सफल भए। यसैगरी देवेन्द्र पौडेल लगायत माओवादी पृष्ठभूमी भएका नेताहरूसँग पनि माओवादी केन्द्रका दोश्रो तहका नेताहरूको लामो समयदेखि छलफल चलिरहेकोछ । 

प्रचण्डले माओवादी एकताको विषयलाई अगाडी सार्नुको अर्को पक्ष उनीपछिको नेतृत्व पंक्ति नहुनु भन्ने रहेको लाजिम्पाटको बुझाई छ । डा. भट्टराई बाहिरिएपछि प्रचण्डको विकल्पमा कुनै नेता नरहेको र त्यसलाई उनले मात्र परिपूर्ति गर्नसक्ने प्रचण्डले समिक्षा गरेपछि एकताको प्रक्रिया अघि बढाएका हुन् । 

‘बादलबाट त्यो सम्भव छैन, नारायणकाजीबाट नेतृत्व सम्हालिन नसक्ने अवस्था देखेपछि अध्यक्ष विकल्पको नेताको खोजीमा पनि एकीकरणको पक्षमा उभिनुभएको हो’, लाजिम्पाट स्रोतले भन्यो,‘उहाँ केही वर्ष विश्रा मगर्ने पक्षमा पनि हुनुहुन्छ ।’

यता, नयाँ शक्तिका संयोजक डा. भट्टराईले भने यो पार्टी एकताको प्रक्रिया नभएको बताएका छन् । उनले ‘पूर्व प्रम तथा माकेका अध्यक्ष प्रचण्ड दोश्रो पटक मेरो स्वास्थ्यबारे जानकारी लिन आउनुभएकोमा हार्दिक धन्यवाद! राजनीतिक प्राणी हुनुका नाताले प्रसंगवश केही राजनीतिक कुराहरू गरिनु अस्वाभाविक होइन तर त्यसलाई पूर्व माओवादीबीच एकताको प्रयासका रूपमा अथ्र्याइनु तथ्यसंगत हैन, हुँदैन’ भन्दै फेसबुकमा लेखिसकेका छन् । 

तर, उनले नयाँ पार्टीको न्वारान गरेका छन् जसको नाम नयाँ समाजवादी राखेका छन् । तर, त्यो के कारण राखेका हुन् भन्ने उनले प्रष्ट पारेका छैनन् । तर, नयाँ शक्ति नेपालको केन्द्रिय परिषद्मै पार्टीको नाम परिवर्तनको प्रस्ताव परेका कारणले नयाँ शक्तिको परिमार्जित नाम नयाँ समाजवादी हुनसक्ने अनुमान गरिएको छ । 


Post a Comment

0 Comments