Subscribe Us

हारको दोष थोपरेर उम्किए देउवा,
बनावटी कारण बुनेर दोषजति केन्द्रीय समितिलाई ,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा पार्टीले बेहोरेको सर्मनाक हारको दोष केन्द्रीय कार्य समितिलाई थोपरेर आफुू पानी मुनिको ओभानो भएका छन् । 

गत चैत ९ गतेदेखि केन्द्रीय कार्य समिति बैठक गराएर आफु्ना बिरोधी र असहति राख्ने केन्द्रीय सदस्यलाई थकाएर देउवाले निर्वाचनमा पराजय बेहोर्नुको मुख्य दोष भने एमाले र माओवादीको चुनावी तालमेललाई दिएका छन् । 

एक महिना सात दिन लगाएर १४ दिनभरी चलेको बैठकमा केन्द्रीय सदस्यहरूले दिएको सुझावलाई टोकरीमा फाल्दै देउवाले चुनावमा पार्टी पराजित हुुनुको कारण प्रचार गर्न नसक्नु र एमाले माओवादीबीचको तालमेल तथा फोरम र राजपाबीचको तालमेल भनेर उल्लेख गरेका छन् । 

असन्तुष्ट नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, यूवा नेताहरूको समूह, कुलकबहादुर गुरूङ, नरहरि आचार्य जस्ता केन्द्रीय सदस्यहरूको सुझावलाई समेत पछि छलफल गर्ने भन्दै केन्द्रीय कार्य समिति बैठकले विगतमा पार्टीले गरेको कुनै पनि कार्यप्रति आत्मालोचना गरेको छैन् । असन्तुष्ट नेताको भावनालाई समेत संवोधन गरेर निर्णय लेखिने भने पनि सभापति देउवाले महामन्त्री डा. शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्माको सल्लाह र योजना बमोजिम असन्तुष्टको भावनालाई संवोधन गर्ने गरी कनै पनि लिखित निर्णय गरिएको छैन् । 

चुनाव हार्नुको कारण बनावटी 
कांगे्रस केन्द्रीय कार्य समिति बैठकले गरेको लिखित निर्णय नम्वर २ मा एमाले र माओवादीबीच भएको गठबन्धनलाई चुनाव हार्नुको मुख्य कारण मानिएको छ । तर सोही बुँदाको अर्को वाक्यमा कांग्रेसले २०७० सालको चुनावमा प्राप्त गरेको मत प्रतिशतमा भने बढोत्तरी भएको दाबी गरिएको छ । निर्णय नम्वर २ मा मधेशकेन्द्रीत दलहरूबीचको गठबन्धनले गर्दा निर्वाचनमा पराजय बेहोर्नु परेको वताइको छ ।

तर कांगे्रसले माओवादी र एमाले गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका उम्मेदवारहरूलाई सहयोग गरेको थियो । गठबन्धनको लागि सभापति देउवाले वार्ता गर्ने जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिइएको थियो । उनकै सिफारिसमा केन्द्रीय कार्य समितिले अनुमोदन नै नगरी फोरमका अध्यक्ष उपेन्द्र महतो र राजपाका अध्यक्ष महन्थ ठाकुरलाई सघाउन कांग्रेसका उम्मेदवारलाई उम्मेदवारी झिक्न लगाइएको थियो । 
चुनाव हार्नुको तेश्रो कारणमा उम्मेदवारी चयन प्रकृयामा पर्याप्त गृहकार्य नगरी समयमै उम्मेदवार टुंगो नलगाएको भनिएको छ । तर उम्मेदवार चयन केन्द्रीय कार्य समितिले गरेको होइन । संसदीय समितिले उम्मेदवार चयन गर्ने अधिकार पाउँछ । सभापति देउवाले भने अर्का नेता रामचन्द्र पौडेलसँगको सहमतिमा उम्मेदवार टुंगो लगाएका थिए । निर्वाचनमा पराजय बेहोर्नुको दोष केन्द्रीय कार्य समितिलाई दिनु प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । उम्मेदवार चयन गर्न निर्णय गर्ने अधिकार नै नपाएको केन्द्रीय समितिलाई दोषको भागिदार गराएर सभापति देउवा पानी माथिको ओभानो भएको एक केन्द्रीय सदस्यले वताए । पार्टीको संसदीय समितिले भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइरालालाई उठाउने निर्णय गरेपनि सभापति देउवाको एकल निर्णयबाट सो निर्णय उल्टाइएको थियो । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई कांगे्रेसको उम्मेदवारले सघाउने भन्दै भोट माग्न नै गए । 

कांग्रेुसले निर्णय नम्वर २ मा स्थानीय तहको उम्मेदवारको पक्षमा निष्कृयता, असयोग र अन्तर्घात जस्ता अनुशासन विपरितको क्रियाकलापका कारण पराजय बेहोर्नु परेको भने पनि अनुशासन विपरित कार्य गर्नेलाई कारबाही गर्ने निकार्य पार्टीको केन्द्रीय अनुसाशन समितिले आजसम्म कसैलाई कारबाही गरेको विवरण सार्वजनिक गर्न सकेको छैन् । चुनावमा जनमत सृजना गर्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रभावकारी ढंगबाट प्रयोग गर्न नसकिएको भनिएको छ । तर कांग्रेस सत्तामा बसेर राज्यका प्रमुख सञ्चारमाध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोरखा पत्रलाई आफु्नै मातहतमा राखेर कांग्रेसकै पक्षमा प्रचार गराइएको थियो । 

त्यस्तै प्रचारकै लागि भनेर कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस यूनियनको सहयोगमा देशैभर मिडिया सेन्टर स्थापना गर्नुका साथै अनलाइन मिडियालाई प्रति अनलाई १० हजारेखि ५० हजार रूपैयाँसम्म युनियनका एक पदाधिकारीमार्फत वाँडिएको थियो । प्रचार गर्न भनेर नै नेता रमेश लेखकको संयोजकत्वमा गठीत मिडिया सेन्टरका पत्रकारहरूलाई अर्बपति उद्योगपति बिनोद चौधरी र उमेश श्रेष्ठमार्फत रकम उपलब्ध गराईको थियो । एक्प्रेक्टम एडभरटाईज एजेन्सी मार्फत पत्रपत्रिका र अनलाईनलाई गरी ३० लाख बढी रकम बाँडिएको थियो । 

असन्तुष्ट नेतालाई भुल्याउन यस्ता योजना 
सभपाति देउवाको इसारामा प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको निर्णय नम्वर २ को ‘क’ मा एकीकृत राष्ट्रिय जागरण अभियान संचालन गर्ने, ‘ख’ मा आगामी जेठ महिना भित्रमा जिल्ला सभापतिको भेला गर्ने र ‘ग’ मा पार्टीको बिधानलाई संशोधन गर्न आगामी भदौ भित्र महासमिति बैठक बोलाउने निर्णय गरिएको छ ।

बैठकले अनुसासन समितिलाई अनुशासन र मर्यादा विपरितका कार्यलार्य छानबिन गरी आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिएको छ । बैठकले असोज ३० गते नेपाली कांगे्रसमा बिलय भएको विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरका सबै कार्यकर्तालाई क्रियाशिल बनाउन क्रियाशिल सदस्यता वितरण गर्ने र पार्टी बिलय हुँदाको समयमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरिएको छ । कांग्रेस बैठकमा गच्छदार विशेष आमन्त्रित सदस्यको रूपमा केन्द्रीय कार्य समिति बैठकमा भाग लिँदै आएका छन् । 

देउवा सरकार निरंकुश शासनमा गठन भएको स्वीकारोक्ति  
कांग्रेस सभपाति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्य समिति बैठकमार्फत नेपाली कांग्रेस प्रजातान्त्रिकलाई पहिलो पटक मान्यता दिँदै राजा ज्ञानेन्द्रले असोज १८, २०५९ मा चालेको कदमलाई निरंकुस शासन ल्याउने कार्य भनेका छन् । 

निर्णय नम्वर एकमा तत्कालिन प्रधानमन्त्री समेत रहेका देउवाले जेठ १९ गते संसद भंग गर्न राजालाई सिफारिस गरी निर्वाचनको घोषणा गरेको कुनै प्रसंग उल्लेख गरिएको छैन । तर माघ १८ गते देउवालाई प्रधानमन्त्रीबाट तत्कालिन राजाले अपदस्त गरी निरंकुस शासन प्रणाली लागू गरेको कांग्रेस बैठकले स्वीकारेको छ । 

स्मरणीय त के छ भने देउवालाई निर्धारित समयमा निर्वाचन गराउन नसकेको भन्दै तत्कालिन राजा ज्ञानेन्द्रले उनलाई २०५९ साल असोज १८ गते पदबाट निकालेका थिए । तर २०६१ सालमा जब देउवा प्रधानमन्त्रीमा पुन तत्कालिन राजा ज्ञानेन्द्र शाहबाट प्रधानमन्त्रीमा नियुक्त भए तव उनले गोरखाका राजाले मलाई न्याय दिए भन्दै ज्ञानेन्द्रको खुलेर प्रशंशा गरेका थिए । तर देउवा २०५९ साल असोज १८ पछि २०६३ बैशाख ११ गतेसम्मको शासन प्रणालीलाई निरंकुस शासन भएकै स्वीकारेका छन् । 
पदाधिकारी र संसदीय समिति सदस्यको ललिपप देखाउँदै देउवा
राजनीतिमा सँधै भोग, बिलास र वितरण संस्कारको बिकास गर्दै आश्वासन दिने तर कार्यान्वयन नगर्ने प्रबृत्तिका कांग्रेस सभापति देउवाले आफुूलाई शाक्तिशाली बनाउन वा समर्थन पाईरहन पार्टी केन्द्रीय सदस्यहरूलाई संसदीय वोर्ड र पदाधिकारीमा नियुक्तिको ललि पप सांसदहरूलाई बाँडेदै हिँडेका छन् । 
दुई महिना भित्र पूर्णता दिइसक्नु पर्ने पार्टीका हरेक निकायलाई देउवाले २ बर्ष एक महिना वितिसक्दा पनि पूर्णता दिन नसकेपछि तिनै पद देखाएर केन्द्रीय सदस्यहरूसँग वार्गेनिङ गरिरहेका छन् । आइतबार बैठक सम्पन्न भएपछि सोमबार पदाधिकारीको नाम प्रस्ताव गर्ने योजना देउवाको थियो । तर उनले महामन्त्री र सहमहामन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न भन्दै नाम प्रस्ताव गर्ने आफु्नो पूर्वनिर्धारिच कार्यक्रम नै स्थगित गरेका छन् । 

पदाधिकारी बन्न लिगलिगे दौड
कांग्रेस सभपाति सभापति शेरबहादुर देउवाले पदाधिकारी र संसदीय वोर्डको सदस्यमा नियुक्त गर्ने भन्दै आन्तारिक प्रचार गरेपछि पदाधिकारी बन्न चाहनेहरूको लिगलिगे दौड शुरू भएको छ ।

उपसभापतिको लिगलिगे दौडको प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि अन्य प्रतिष्पर्धी भन्दा निकै अघि छन् । उनलाई फोरम लोकतान्त्रिकबाट कांग्रेस पसेका गच्छदार र बृद्ध नेता गोपालमान श्रेष्ठले पछ्याइ रहेका छन् । तर उपसभापतिको यो दौडमा निधिलाई कसैले उछिन्ने सम्भावना छैन् । त्यस्तै, महामन्त्रीमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र नेविसंघका पूर्वअध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की प्रतिष्पर्धामा छन् । 

देउवा यतिवेला स्वर्गीय खुमबहादुर खड्काले खडा गरेको गुटका केन्द्रीय सदस्यहरूको समेत समर्थन प्राप्न गर्न पूर्णबहादुरलाई महामन्त्री बनाउन चाहन्छन् । तर देउवापत्नी आरजु राणा भने ज्वाईँ ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउन चाहन्छिन् । महामन्त्रीको दौडमा सोमबारसम्म खड्काले कार्कीलाई उछिने पनि २१ गतेसम्म के हुने भन्ने निश्चित छैन । 

सहमहामन्त्रीमा भने देउवा गुटबाटै बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्माबीच प्रतिष्पर्धा छ । असन्तुष्ट नेता पौडेलले महेश आचार्य र नविन्द्रराज जोशीमध्ये एकलाई सहमहामन्त्री बनाउन दबाब दिइरहेका छन् । महामन्त्री डा. शशांक कोइरालाले आफु्ना केही केन्द्रीय सदस्यलाई व्यवस्थापन गर्न सभापति देउवासँग माग गरेपछि पदाधिकारीको नाम प्रस्ताव गर्नबाटै देउवा पछि हटेका छन् । कोइरालाले डा. मिनेन्द्रप्रसाद रिजाललाई सहमहामन्त्री बनाउन दबाब दिएका छन् । 

सभापति देउवा केन्द्रीय कार्य समिति बैठकमा संसदीय समिति (वोर्ड) भंग गर्ने निर्णय भएपछि वोर्ड सदस्यमा तान्ने र व्यवस्थापन गर्ने भन्दै आकांक्षीको व्यवस्थापन गर्ने आश्वासनमा व्यस्त छन् । उनले केन्द्रीय कार्य सम्पादन समिति समेत पुनर्गठन गर्ने आश्वासन दिएर पदका भोका र आकांक्षी कांग्रेसका केन्द्रीय सदस्यहरूलाई आश्वासन दिदै आएका छन् । कांग्रेसका असन्तुष्ट नेता पौडेलले एकलौटी निर्णय गरिए नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिए पछि सभापति देउवाले पौडेल समुहकै महामन्त्री डा. शशांक कोइरालालाई आफु्नो गुटमा ल्याएका छन् । 


Post a Comment

0 Comments