Subscribe Us

मुलुकभर ६ महिनामा दश हजार दुर्घटना, एक हजार चारसयभन्दा बढीको मृत्यु

काठमाडौं । साँघुरो बाटो र मुलुकभर बढ्दो
सवारी साधनका कारण यस आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर १० हजार ६८० दुर्घटनामा परी १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताए । उनले भने, साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो ।

प्रहरीले दुर्घटना घटाउनका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ । यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रिफेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएको छ । उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ । 

उपत्यकामा धेरै दुर्घटना

सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाडौँ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र सात हजार २६० दुर्घटना भएका छन् । प्रदेश१ मा ९२४, प्रदेश२ मा ६६८, प्रदेश३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन् ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हने गरेको बताए । चालकको लापर्वाही र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो”, उनले भने ।

एक हजार ४१३ जनाको मृत्यु 
चालू आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परी एक हजार ४१३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यस्तै दुई हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये एक हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् । यसैगरी पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने बताए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । 

Post a Comment

0 Comments