Subscribe Us

उपत्यकाबाट ८ सय ६ जना जुवाडे पक्राउ



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले चालू आर्थिक वर्षमा ८ सय ६ जना जुवा खेल्ने र खेलाउनेला पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकाका तीन जिल्लाबाट चालू आवमा ती व्यक्तिहरू पक्राउ परेका हुन् । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ती व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको हाे ।

महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८ सय ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँबाट ६३२, भक्तपुरबाट १४८ र ललितपुरबाट २६ रहेका छन् ।

काठमाडौँबाट साउन ६१, भदौ ११, असोज ८८, कात्तिक ८७, मङ्सिर ९४, पुस ७६, माघ ७८ र फागुनमा १३७ लाई पक्राउ गरेको छ । यस्तै भक्तपुरबाट साउन १४, भदौ १७, असोज ४०, कात्तिक ४३, मङ्सिर नौ, पुस सात र माघमा १८ पक्राउ परेका छन् भने ललितपुरबाट असोज ११, कात्तिक ११ र पुसमा चार पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये काठमाडौँ ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीले जुवातासमा पक्राउ गरेकामध्ये काठमाडौँबाट साउन तीन, भदौ आठ, असोज ११, कात्तिक ९, मङ्सिर ९, पुस ८, माघ ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै भक्तपुरबाट भदौ दुई, असोज दुई, पुस एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र रु एक करोड छ लाख ९७ हजार बरामदसमेत गरेको छ । बरामद भएको रकममध्ये काठमाडौँबाट रु ९२ लाख ३५ हजार, ललितपुरबाट रु एक लाख चार हजार र भक्तपुरबाट रु १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुवातासले मानिसको भविष्य नै समाप्त पार्नसक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको बताए ।

Post a Comment

0 Comments