Subscribe Us

सिआईबी टोली हाैं भन्दै रात्री बस लुट्ने ७ पक्राउ
स्काेरपियो र दुइ मोटरसाइकलसहित लुटिएको रकम बरामद

काठमाडौं । काठमाडाैंबाट महोत्तरी जाँदै गरेको ना. ७ ख ४७९० नम्बरको रात्रीबसलाई लुट्ने ७ जना पक्राउ परेका छन् । प्रहरी निरिक्षक विक्रम लामाको कमाण्डमा खटिएको मोबाइल टोलीले उनीहरुलाई प्रस्तावित हेटौंडा–काठमाडौं फास्टट्रयाकबाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले शनिबार बिहान करिब ३ बजेतिर काठमाडौंबाट महोत्तरी गइरहेको रात्री बसलाई बाराको सिमारा उपमहानगर वडा नं. १४ स्थित १४ किलो भन्ने स्थानमा रोकी लुटेका थिए । लुटेराहरुले यात्रु र सहचालकलाई तपाईंहरु आत्तिनु पर्दैन हामी सिआईबी प्रहरीको सिआईडी टोली हौं, त्यसैले बसको ढोका खोल्नुस् भने पछि मात्र सहचालकले ढोका खोलेको बस चालक गणेश भुषालले बताए ।

स्कोर्पियो गाडी र दुईवटा मोटरसाइकलमा आएका उनीहरुले एकान्तस्थानमा बसलाई रोकी बसको सहचालक सञ्जयकुमार उपाध्यायलाई कुटपिट गरी उनीसँग भएको नगद ४५ हजार नेपाली रुपैयाँ, भारतीय २ हजार र मोबाइल लुटेर पथलैयातर्फ भागेका थिए ।

त्यसपछि सो बसका चालकले बसलाई प्रहरीको मोबाइल टोलीलाई पथलैयाको बुद्धचोकमा भेटी सम्पूर्ण जानकारी गराएपछि प्रहरीले उनीहरुको खोजतलास गरेको थियो । खोजतलासको क्रममा बा १७ च ४८७६ नम्बरको स्कोर्पियो, ज १२ प ४६८० र बा ८६ प ९७७१ को मोटरसाइकलमा सवार ७ जना पक्राउ परेको प्रहरी निरीक्षक लामाले बताए ।

पक्राउ पर्नेमा सर्लाही हरिवनका स्कोर्पियो चालक दिल कुमार दोङ, हरिवनकै विजय लामा, सिन्धुली हरिपुरका टाइगर भनिने सुनिल तामाङ, रौतहट गुजरामाईका ज्ञानबहादुर थिङ, काभ्रे महाभारतका विशाल पाख्रिन, महोत्तरी बागडाका सन्तोष भनिने रमेशकुमार यादव र सिन्धुली मरिन घर भई हाल बारा निजगढ बस्ने संघर्ष थिङ रहेका छन् ।

Post a Comment

0 Comments